Manju Manjubhashini
Manju Manjubhashini(Manju Shrestha)
Loves Nepal.
खुशी फुल्नु पर्ने ठाउँमा विरहको गीत हुन्छ
पहाड बन्छ तिल जब बुद्धि विपरीत हुन्छ
मञ्जु मञ्जुभाषिणी
गजल
मन गाँस्न नखोज्नू यो मन धेरै जलेपछि
मायाको जल वर्सिन्न शङ्का अग्नि बलेपछि
हकदाबी बताएर मेरो बाटो नछेकियोस्
रोकिन्न छातिमा साह्रै आँधीहुरी चलेपछि
नलागून् लाग्छ सन्तान बाटो कोही विदेशको
बाटो हेर्दै हिजोआज हातपाउ गलेपछि।।
वृद्ध आमाबुबाभन्दा प्यारो भयो अमेरिका
घर सम्झेर फर्केछौ पहिरोले दलेपछि।।
जस्तो कर्म गर्यो उस्तै मिल्ने गर्छ यहाँ फल
कसैको जोड चल्दैन प्रारब्धले छलेपछि
किन हुन्छ सधैँ सोच्थेँ समीका छेउमा बर
बुझें आज समी एक्लै चौतारीमा ढलेपछि।।
पुतलीहरू (कविता)
बत्तीको मनमोहक उज्यालोमा
संसारका सारा खुसीहरू पाइने
कल्पनाको सुन्दर बगैंचामा रम्दै
मीठो सपना बोकेर
हिजो होमिएका थिए
पुतलीहरू।
बत्तीको प्रभावशाली उज्यालोमा
कुनै कमी छैन
हूलका हूल पुतलीहरू
होमिंदै छन्
आज पनि ।
बत्ती बल्नु र पुतली होमिनु
निरन्तर प्रक्रिया हो सायद
चलिरहनेछ
भोलि पनि ।
अनेक व्यवस्थाहरूका विरुद्धमा
धपक्क बल्नेछ बत्ती
र,
हरेक परिवर्तित उज्यालोमा
हरेक परिमार्जित उज्यालोमा
यसै गरी
होमिनेछन्
पुतलीहरू ।
# रचना २०७९/११/०१
निष्ठुरी समय
रमाउने रहर सँगालेर
अघि बढेको छ जिन्दगी
यो धर्तीमा।
धेरै गर्नु छ
सुकर्म
राख्नु छ कीर्ति
यही धर्तीमा।
असमयमा
नलुट् जिजीविषा
हे ! निष्ठुरी समय।
रचना काल : २०७९/१०/०१